मृत्यु कति स्वादिलो!

"आमा नरूनोस्।" अदिनोले आफ्ना कमजोर हातहरूले आमाको गालाबाट झर्दै गरेको आँसु पुछेर भन्यो– "आमा! हामी एकदिन भेटिहाल्छौं नि! किन रूनुहुन्छ? आमा नरूनोस्।" अदिनोले आमाको आँसु पुछि नै रह्यो अनि हामी सबैलाई बिदाइको अन्तिम म्वाइँ खायो।

यो सत्य घटना मेई १७ तारिख, १९५५ साल बिहान घटेको थियो। सारा भारतवर्षमा छुटकाराको नयाँ जोश र उमंग थियो, कारण १९४७ सालमा बृटिश साम्राज्यको लामो बन्धनपछि भारतवासीले भर्खरै स्वतन्त्रताको श्वास फेर्दैथिए। साँच्चै भनौं भने त्यस समय मेरो परिवारको लागि पनि त्यहाँ दुई प्रकारको "स्वतन्त्रता" थियो। एउटा त अंग्रेजको शासनबाट मुक्ति पाएको स्वतन्त्रता अनि अर्को पाप र सैतानको पासोबाट छुटकारा पाएको स्वतन्त्रता!

दार्जीलिङ पहाड़ी क्षेत्रमा पनि १९४७ सालमै आत्मिक जागृतिको आगो सल्कियो। "तिमीले सत्यलाई जान्नेछौ अनि सत्यले तिमीलाई छुटकारा दिनेछ। यदि पुत्रले (यीशु ख्रीष्टले) तिमीलाई स्वतन्त्र गराए भने तिमी साँच्चै स्वतन्त्र हुनेछौ" (यूहन्ना ८ः३२, ३६)। परमेश्वरको यस वचनरूपी आगोद्वारा धेरैको पापरूपी मैला र कसिंगर सल्किँदै थियो। धेरैजनाले ख्रीष्ट यीशुमा पापबाट छुटकारा, उहाँको बलिदानको साँचो प्रबन्ध, उहाँको रगतको शक्तिलाई साँचो प्रकारले बुझे र पापबाट पश्चात्तापी बनी अनन्त शान्ति अजम्बरी जीवनको भागीदार बने। ती भाग्यमानी परिवारहरूमध्ये मेरो परिवार पनि एक थियो। हामी त जन्मैको ख्रीष्टियान हौं भनी ठूलो गर्व गर्ने गर्थ्यौं। साँच्चै भनौं भने हामी बोक्रे ख्रीष्टियानहरू थियौं। मसिहीपनको मुखुण्डोमात्र लगाएका; हाम्रो हृदय र परिवार ख्रीष्टदेखि बाहिरै थियो। यसरी अजम्बरी र बोक्रे जीवनको गर्वलाई परमेश्वरको वचन, "हेर्नुहोस्, म अधर्ममा उत्पन्न भएँ र पापैमा मेरी आमाले मलाई गर्भधारण गरिन्" ले चूर पाऱ्यो (भजन ५१ः५)। हामीले हाम्रो वास्तविक जीवनलाई देख्नसक्यौं र पूर्णरूपले पश्चात्तापी बन्यौं।

यस नयाँ अनुभवमा जानेहरूमा सर्वप्रथम मेरा माता–पिता पनि हुनुहुन्थ्यो। ख्रीष्टमा पूर्णरूपले पश्चात्तापी बनेर उहाँको रगतले पाप शुद्ध भएपछि मेरा माता–पितामा ठूलो परिवर्तन आयो। म आफै छक्कै पर्थें उहाँहरूको स्वभावमा– अनि मानौं मैले नयाँ माता–पिता पाएँझैं लाग्थ्यो। मसीही जीवनको जिउने ढंग अबमात्र पो हामीले जानिरहेको थियौं। हरेक बिहान हामी सबै परमेश्वरको वचनबाट सुन्ने र बुझ्ने गर्थ्यौं। बाइबलका अर्थहरू अबमात्र स्पष्ट हुँदैथिए। अनि हामी हाम्रो जीवनलाई त्यस वचनको प्रकाशमा हिँड़ाउने प्रयत्न गर्दैथियौं। यो स्वर्गीय र स्वादिलो अनुभवबाट भएर हामी जाँदै थियौं, तर त्यही समयावधिमा अचानक एउटा गहिरो आघात पार्दै यो घटना हाम्रो परिवारमा घट्यो। परमेश्वरले यो घटनासँगै एक विशेष आशिष् र सन्देश हाम्रो परिवारभित्र तथा बाहिरकाहरू समेतलाई दिनुभयो।

मेरो बाह्र वर्षीय भाइ अदिनो लिंगडोङलाई मुटुको बिमारी थियो। ऊ एक तेज बालक थियो। १७ तारिख मेई महिनाको बिहान ऊ अचानक साह्रो भयो। हाम्रो दैनिक बिहानको बाइबल पठन शुरू भएको थिएन। वातावरण गम्भीर थियो तर बुबा र अदिनोको बीचमा बड़ो मधुर कुराकानी हुँदैथियो। आमाको हृदय छोराको सिकिस्त दशा देखेर चूर्ण हुँदैथियो, अनि उनका आँखाहरू आँसुले पुरिइसकेका थिए। हाम्रो पारिवारिक बाइबल अध्ययन शुरू हुनथाल्यो, उता अदिनो आमाको छातीमा अडेसिएर अन्तिम बिदाईको तयारीमा थियो। उसको अवस्था क्षण–क्षण बिग्रँदै गयो। केवल उसको चम्किलो मुहारले हाम्रो रोदनमय अवस्थालाई ढाढ़स दिन्थ्यो।

ख्रीष्टमा साँचो गरी नयाँ जन्म पाई मृत्युको निम्ति निडर बनी परमेश्वरलाई भेट्न तयार हुनु, यो साँच्चै ठूलो हक रहेछ! अदिनो पनि यो हकबाट बञ्चित थिएन। ऊ बालकै थियो र पनि उसले बालककालका कतिपय भूल, गल्ती र पापहरूलाई स्वीकार गर्दै ख्रीष्टको पवित्र रगतले एकपल्ट फेरि धोई माग्यो। त्यसपछि उसले हामी तीन भाइ र एक बहिनीलाई स्कूल नजाने आग्रह गऱ्यो। उसको यो अनुरोधले हामी मर्माहत बन्यौं। आमा सुँक्सुँकाउन थाल्नुभयो। कोठाको वातावरण बड़ो करूण र हृदयस्पर्शी थियो। हामी सबै हृदयभरि असह्य व्यथा र आँखाभरि आँसु लिई उभिरहेका थियौं।

अचानका अदिनको स्वर यसरी खुल्यो, "बुबा! प्रभु यीशु चम्किलो सेतो वस्त्रमा मलाई लिन स्वर्गबाट झरिरहनुभएको छ। दयागरी मलाई नलैजानुहोस् भनेर उहाँलाई भनिदिनुहोस् न, म मेरो बाँकी जीवन उहाँकै सेवामा बिताउनेछु।" वेदनाले निमोठिएको मुटु बलियो गरी बाँधेर आँसुसरि बुबाले जवाफ दिनुभयो, "मेरो छोरा! यदि उहाँ तिमीलाई लैजान आउनुहुँदैछ भने तिमी उहाँसित जानुपर्छ।" माथि स्वर्गमा कुनै दुःख हुनेछैन। मुटुको व्यथाले पनि सताउँदैन।" केही बेरपछि अदिनोले अघिकै कुरा दोहोऱ्याउँदै फेरि बुबालाई भन्यो, "बुबा! भनिदिनुहोस् न! मलाई जीवनदान दिनुहोस् भनेर। म जीवनभरि उहाँकै सेवा गर्नेछु।" बुबाले हृदयलाई फेरि कड़ा गरी ओंठमा मुस्कान ल्याउँदै दृढ़ स्वरमा पहिलकै कुराहरू दोहोऱ्याउनुभयो।

बुबा–छोरोबीचको यो मधुर कुराकानी साँच्चै हृदयस्पर्शी थियो। हामी सबै रूनथाल्यौं। आमाको रूवाइ सबैभन्दा हृदयविदारक थियो। अचानक अदिनोले आफ्नो आमाको गालाबाट बग्दै झरेको आँसुका थोपाहरू पुछ्नथाल्यो र बिस्तारै बोल्यो, "आमा! नरूनोस्। हामी माथि एकअर्कालाई भेट्नेछौं। आमा नरूनोस्।" उसका कमजोर हातहरूले आमाको आँसु पुछि नै रह्यो अनि हामी सबैलाई बिदाइको अन्तिम म्वाइँ खायो। त्यसपछि अदिनोले तल लेखिएको भजन गुनगुनाउन थाल्यो, हामी सबैले पनि आँसुसरि भई ऊ सँगसँगै गाउनथाल्यौं। छुटकाराको महिमित स्वरले कोठा नै गुञ्जायमान भयो।

जब हामी सबै स्वर्गमा पुग्नेछौं, कति आनन्दित हुनेछौं। जब हामी देख्नेछौं एकअर्कालाई, प्रशंसा उहाँको गर्नेछौं अनन्तलाई।

त्यसपछि अदिनोले अन्तिम श्वास फेऱ्यो। हेर्दाहेर्दै हामीलाई छोड़ेर ऊ मुक्तिदातासँग रहन गइहाल्यो। प्रिय अदिनोको यो अद्भुत र महिमित मृत्युले हामीलाई पनि मृत्युको निम्ति तयार हुने सन्देश दिन्छ। आहा! कति स्वादिलो मृत्यु!!

ठीक एक कोरी चौध वर्षअघि जुन बुबा (टी.जी. सर) ले आफ्नो छोरालाई खूबै दृढ़ निश्चयता र हर्षसाथ प्रभुको घर "स्वर्ग" जानलाई सप्रेम र साहसपूर्वक बिदावारी दिएका थिए, उनै बुबाले आज फेरि एक अमेट छाप सर्वपरिवार अथवा गाउँलेहरूको हृदयमा अंकित गर्दै ख्रीष्ट यीशुमा एक साँचो विश्वासीको मृत्युचाहिँ साँच्ची नै कति स्वादिलो हुन्छ भन्ने कठोर सत्यतालाई टेवा दिए, अनि यो स्वादिलो मृत्युचाहिँ स्वर्ग प्रवेशको सरल परिभाषा पनि हो। यसैले ख्रीष्ट यीशुको बलिदानको रगतमा सरल विश्वास गरी पाप धोइ मागी; एक जन्मैको पापीले पनि कसरी अचम्मकै निर्धक्कताको आशा प्राप्त गरी मृत्युपछि परमेश्वरको घर (स्वर्ग) प्रवेश गर्नसक्छ भन्ने सत्यतालाई पनि समर्थन जनाउनुभयो अनि प्रवासी जीवनको जम्मा चार कोरी तीन वर्ष व्यतीत गरेपश्चात् १८ अक्टोबर १९८९ को दिन प्रभुको प्रशंसा गर्दै र "प्रभु, म तपाईंकहाँ आइरहेको छु" भन्दै उहाँ स्वयं पनि प्रभुकहाँ जानुभयो। आहा! कति अर्थपूर्ण जीवन पृथ्वीमा अनि स्वर्गमा पनि !!

वृद्धावस्थाको कारण स्मरण शक्ति जीर्ण भए तापनि प्रभुप्रतिको जीवित विश्वास अर्थात् परमेश्वरमा सधैं लीन रहेको उनको स्मरणशक्ति लेश मात्रामा पनि कम पाइएन। जसरी १९४७ सालमा प्रभु यीशु ख्रीष्टलाई उद्धारकर्ताको रूपमा पाएकै घड़ीदेखि बिदाइको अन्तिम घड़ीसम्मै परमेश्वरको राज्यको प्रचार गर्न र स्तुति गाउने र त्यही अटूट सेवा गर्ने गुण उहाँमा पाइयो।

प्रवासी जीवनमा ज्यादै व्यवहार गरिएको पवित्र बाइबलको पद "उहाँको पुत्र येशूको रगतले हामीलाई सब पापबाट शुद्ध पार्छ" एउटा साह्रै प्यारो, प्रेरणादायक शक्तिशाली पदहरूमध्ये एक बन्नगएको थियो। खुल्लमखुल्ला ठोकुवा दिएर "यीशुमा विश्वास गरे मृत्यु कति स्वादिलो बन्नसक्छ!" भनी प्रचार गरिएको सुसन्देशको यो एउटा सत्य पुष्टीकरण हो। यो एक अभ्रमित, सत्य, सुन्दर अनि स्वादिलो ख्रीष्टिय जीवन साक्षी हो!

प्रिय मित्र! माथिको सत्य घटनालाई बिचार्नुहोस्। के तपाईं ख्रीष्ट यीशुविहिन हुनहुन्छ? अथवा के तपाईं ख्रीष्टियान भएर पनि ख्रीष्टविहीन भएर बाँचिरहनुभएको त छैन? के तपाईं मृत्युको निम्ति तयार हुनुहुन्छ? तयार हुनुभएको छैन भने आज नै परमेश्वरको वचनले भन्छ, "तिम्रो परमेश्वरलाई भेट्न तयार होऊ" (आमोस ४ः१२)


यो पर्चा कसैको धर्म परिवर्तन गर्न वा कसैको विश्वास र आस्थामाथि चोट पुऱ्याउन नभई परमेश्वरको प्रेम, उद्धार, क्षमा, शान्तिको सन्देश सबै जातजाति, भाषाका मानिसहरूलाई बताई सत्यको ज्ञानमा ल्याउनका लागि हो।

यस महान् मुक्तिको विषयमा राम्ररी जान्नलाई निम्नांकित ठेगानामा कृपया पत्र तथा फोनद्वारा सम्पर्क राख्न सक्नुहुन्छ।

कनान प्रेयर हाउस बुद्धनगर, काठमाण्डौं, नेपाल। ०१ ५३१२५८०

Download PDF