के तपाईंलाई शान्ति छ?
शान्तिको बाटो पाउनु अमूल्य कुरा होइन र?
यस प्रश्नले हामीमध्ये कसलाई पो झस्काउँदैन र! घोरिएर विचाऱ्यौं भने वास्तविक शान्ति हामीदेखि टाढ़ो छ; फलतः हामी भन्छौं– "हामीलाई शान्ति छैन।" तर परमेश्वरले यस्तो अशान्तिमा बाँचिरहनेहरूका निम्ति साँचो शान्ति राखिदिनुभएको छ। जुन शान्ति स्वयं शान्तिका राजकुमार प्रभु यीशु ख्रीष्टमा छ।
किन हामीलाई शान्ति छैन? परमेश्वरको वचन बाइबलमा यसका मुख्य तीन कारणहरू भनिएका छनः
प्रथम – "दुष्टहरूचाहिँ छाल उठेको समुद्रजस्तै हुन्, जो शान्त हुनसक्दैन; र त्यसको पानीले हिलो मैला बाहिर फ्याँक्छ।" "दुष्टहरूलाई शान्ति हुँदैन भनी परमप्रभु भन्नुहुन्छ।" (यशैया ५७ः२०) यसर्थ अशान्तिको मुख्य कारण स्वर्ग, पृथ्वी र यावत् थोकका सृष्टिकर्ता परमेश्वरको दृष्टिमा हामी दुष्ट छौं। तर दुष्टताको प्रमाण हाम्रो अशान्तिमात्र नभएर अन्य अवगुणहरू पनि हुन्, जुन मानिसहरूको हृदयबाट नै "खराब विचार, परस्त्रीगमन, व्यभिचार, हत्या, चोरी, लोभ, दुष्टता, छल, कामुकता, कुदृष्टि, निन्दा, घमण्ड, मूर्खता... यी सबै कुराहरू भित्रबाट नै निस्कँदछन् र मानिसलाई अशुद्ध पार्दछन्" (मर्कूस ७ः२१-२३)। फलतः एक अर्काबीच अशान्ति, झगड़ा, मारपीट इत्यादि हुँदछ र हुनेछ। "किनकि मानिसले जे रोप्दछ, त्यसैको कटनी पनि गर्नेछ" (गलाती ६ः७)। "किनकि पापको ज्याला मृत्यु हो" (रोमी ६ः२३)।
दोश्रो – "शान्तिको बाटो तिनीहरूले चिनेका छैनन्" (रोमी ३ः१७)। हृदयको अशान्ति हटाउन र शान्ति पाउन मानिसले केचाहिँ गरेका छैनन् र? कहाँचाहिँ धाएका छैनन् र? केचाहिँ खाएका पिएका गरेका छैनन् र? यी प्रश्नहरूको उत्तर हामी आफै इमान्दारपूर्वक दिनसक्छौं। कुनै नौलो ठाउँमा जाँदाखेरि ठीक बाटो नपाएर दुःख पाएको अवस्थाझैं हाम्रो अवस्था छ। हामीले शान्ति पाउने ठीक बाटो नचिनेर नै हामीलाई वास्तविक शान्ति छैन। गरीबहरू सोच्छन् कि धनी भएरमात्रै शान्ति पाइन्छ होला, धनीहरू भन्छन् अझ धनी भएरमात्रै शान्ति हुन्छ होला, अझ सीधासाधा अनपढ़हरूले भन्ने गर्छन– पढ़ेरमात्र शान्ति पाइन्छ होला। तर वास्तवमा यी सबै सोचाइहरू व्यर्थ हुन्। बाइबलमा लेखिएको छ– "मानिससित भएका प्रशस्त चीजहरूले मानिसको जिन्दगी रहँदैन।" (लूका १२ः१५) सांसारिक प्रकारले प्राप्त भएको शान्ति, त्यो केवल क्षणिक अनि धोकापूर्ण हुन्छ। मादक पदार्थको सेवनले पनि मनको पीर व्यथालाई मेटाउन सक्दैन, बरू त्यसको प्रभाव हटेपछि अशान्तिको भार दोब्बर हुनजान्छ र यतिमात्र होइन यसले शारीरिक, मानसिक र नैतिक हानि पुऱ्याउँदछ। बिचरा शान्तिका प्रेमीहरू यी क्षणिक र धोकापूर्ण शान्तिको झार–पात, अन्न र सन्नले यसरी नाश पारिएका छन्। यसैकारण परमेश्वर भन्नुहुन्छ– "जे खानेकुरा होइन त्यसका निम्ति किन पैसा खर्च गर्छौं? र जुन कुराले सन्तुष्टता नै दिँदैन त्यसका निम्ति किन परिश्रम गर्छौं? ध्यान दिएर मेरो कुरा सुन र जे कुरा असल छ त्यही तिमीहरू खाओ र स्वादिष्ट थोकहरू खाएर तिमीहरू सन्तुष्ट होओ। कान थाप र मकहाँ आओ। सुन, र तिमीहरू जिउनेछौ" (यशैया ५५ः२,३)।
तेश्रो – "अब शान्तिका परमेश्वर आफैले तिमीहरूलाई हरेक प्रकारले शान्ति दिऊन्" (२ थेस्सलोनिकी ३ः१६)। शान्तिचाहिँ परमेश्वरले दिनुहुन्छ। यसर्थ जबसम्म हामी साँचोरूपले अनादिका परमेश्वरलाई चिन्दैनौं, तबसम्म साँचो आत्मिक, अनन्तकालीन शान्ति पाउनेछैनौं। यही शान्ति प्रदान गर्न परमेश्वरलाई यस संसारमा मानिस भएर आउनुहुने प्रभु यीशु नै हुनुहुन्छ। उहाँको एउटा नाम "इम्मानुएल" हो अर्थात् "परमेश्वर मानिसहरूसित" (मत्ती १ः२३) "किनकि जब परमेश्वरको ज्ञानअनुसार संसारले परमेश्वरलाई ज्ञानद्वारा चिनेन, तब प्रचारको मूर्खताद्वारा विश्वास गर्नेहरूलाई उद्धार गर्न परमेश्वरलाई असल लाग्यो। किनकि क्रूसको प्रचार नष्ट हुनेहरूका निम्ति मूर्खता हो, तर हामी उद्धार पाउनेहरूका निम्ति त परमेश्वरको शक्ति हो" (१ कोरिन्थी १ः१८)। प्रभु यीशुले भन्नुभयो– "हे सबै मेहनत गर्ने र बोझले लादिएका हो! मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा तिमी आफैले बोक र मसँग सिक। किनकि म विनयी र नम्र हृदयको छु। अनि तिमीहरूले आफ्नो हृदयमा विश्राम पाउनेछौ" (मत्ती ११ः२८-३०)।
अझै उहाँले भन्नुभएको छ– "शान्ति म तिमीहरूका निम्ति छोड्दछु। म आफ्नो शान्ति तिमीहरूलाई दिन्छु। संसारले दिनेजस्तो त मैले तिमीहरूलाई दिने होइन, तिमीहरूको हृदय विचलित नहोओस्, न भयभीत होओस्" (यूहन्ना १४ः२७)। मृत्युलाई जितेर बौरी उठेपछि उहाँका भयभीत चेलाहरूलाई दर्शन दिँदा उहाँले भन्नुभयो– "तिमीहरूलाई शान्ति होओस्।" जब हामी आफ्नो पापलाई मानिलिन्छौं; बाटो नचिनेको कारणले लज्जित हुँदै नम्र भएर पश्चात्ताप गर्दै प्रभु यीशुको बलिदानपूर्ण प्रेमलाई स्वीकार गरी उहाँको बलिदानको रगतले धोईमाग्छौं, तब हाम्रा हृदयमा तत्कालै ईश्वरीय शान्ति आउनेछ। किनकि पवित्र आत्माद्वारा प्रभु येशूले हाम्रा हृदयमा राज गरी साँचो, स्थायी र आत्मिक शान्ति प्रदान गर्नुहुनेछ।
तपाईंले साँच्चै नै साँचो शान्ति पाउन चाहनुहुन्छ भने यसरी एकान्तमा बड़ो नम्रतापूर्वक घुँड़ा टेकी हृदयको अन्तस्करणबाट यसो भन्दै प्रार्थना गर्नुहोस्, "हे प्रभु यीशु ख्रीष्ट, म पापीमाथि दया गर्नुहोस्। तपाईंको बलिदानको रगतले मेरा पापहरू धुनुहोस्। आज तपाईं मेरो हृदयमा आउनुहोस् र मलाई शान्ति दिनुहोस्। प्रभु यीशु ख्रीष्टको नाममा, आमेन्।" साँचो पश्चात्तापी हृदयबाट यस्तो प्रार्थना गर्नुभएको छ भने साँचो शान्ति दिन उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ।
केही तथ्यहरू
रक गिटारिस्ट जिम्मी हेन्ड्रिक्स लागू औषधमा सम्मेलित, मञ्चमा होस् वा त बाहिर निर्लज्ज भएर जिउने; उनको छाड़ा अव्यवस्थित जीवन शैली थियो। सन् १९७० मा एक कन्सर्टको अन्त्यमा जिम्मीले आफ्नो बजाउँदै गरेको गितार फुटाए। यो कुनै असाधारण कुरा थिएन किनभने उनी प्रायः सधैं नै यस्तो गर्ने गर्थे। दर्शकहरू उन्मत्त भई चिच्च्याइरहे। यो पनि नौलो कुरा थिएन। तर त्यहाँ अचानक सन्नाटा छायो। अनि जिम्मीले घुँड़ा टेके र केही बेरसम्म चुपचाप बसे। अनि केही बेरपछि उनले आफ्नो मौनता तोड्दै भने, "कृपया तपाईंहरूमध्ये कसैलाई साँचो शान्तिको विषयमा थाहा छ भने मञ्च पछाड़ी आएर मलाई भेट्नुहोस्।" उनी त्यही अवस्थामा केही बेरसम्म बसिरहे। तर दुःखको कुरा यो नम्र, इमान्दार र अचम्मको विन्तीलाई कसैले पनि प्रतिउत्तर दिएन। त्यसको केही दिनपछि अनियन्त्रित लागू–औषध सेवनको कारणले गर्दा उनको मृत्यु भयो। शान्ति, अँ साँचो शान्ति ऊबाट उम्कियो।
नोबल पुरस्कार विजेता अर्नेस्ट हेम्मिङ्वे, महान् अमेरिकी उपन्यासकार जसको निजी हवाई जहाजहरू थिए, चारपटकसम्म विवाह गरेर सम्बन्ध विच्छेद गरेका र दुईपटकसम्म हवाई दुर्घटनाबाट उम्के तापनि एकदिन आफैले आफैमाथि गोली प्रहार गरी आत्महत्या गरे। यो कुराले यो देखाउँछ कि, यति विलासी स्थानमा रहे तापनि उसलाई शान्ति भने थिएन। तपाईं पनि यही स्थितिमा हुनुहुन्छ भने प्रभु यीशु ख्रीष्टमा विश्वास गरी आउनुहोस्, "हेर, ग्रहणयोग्य समय अहिले नै हो; हेर, मुक्तिको दिन अहिले नै हो।" (२ कोरिन्थी ६ः२)
मेरिलिन मनरोइ (नोरमा जिएन) भर्खरै ३६ वर्षमात्र पुगेकी हलिउडको सिल्भर स्क्रिनमा सुन्दरी भनी घोषित भएकी भए तापनि आफ्नो जीवनदेखि हार खाएर सन् १९६२ मा आत्महत्या गर्न पुगिन्। तपाईंले चाहिँ आत्महत्या गर्न पर्दैन। प्रभु यीशु ख्रीष्टकहाँ आउनुहोस्, उहाँ नै सबै समस्याको उत्तर हुनुहुन्छ।
म आफै पनि मनको अशान्तिपनमा हुँदा, प्रभु यीशु ख्रीष्टलाई हृदयमा बोलाउँदाहुँदी यो संसारले प्रदान गर्ने शान्तिलाई पनि माथ गर्ने शान्ति प्राप्त गर्न सकें। सन् १९७२ बाट अहिलेसम्म मैले अनुभव गरेको शान्तिझैं तपाईंले पनि यो शान्ति अनुभव गर्न पाउनुहुनेछ। "माग, र तिमीहरूलाई दिइनेछ; खोज, र तिमीहरूले भेट्टाउनेछौ; ढकढक्याओ, र तिमीहरूका निम्ति खोलिनेछ"। मेरा प्रिय पाठकहरूहो, परमेश्वरले तपाईंलाई यो शान्तिको आशिष्ले आशिषित तुल्याऊन्।
यो पर्चा कसैको धर्म परिवर्तन गर्न वा कसैको विश्वास र आस्थामाथि चोट पुऱ्याउन नभई परमेश्वरको प्रेम, उद्धार, क्षमा, शान्तिको सन्देश सबै जातजाति, भाषाका मानिसहरूलाई बताई सत्यको ज्ञानमा ल्याउनका लागि हो।
यस महान् मुक्तिको विषयमा राम्ररी जान्नलाई निम्नांकित ठेगानामा कृपया पत्र तथा फोनद्वारा सम्पर्क राख्न सक्नुहुनेछ।
कनान प्रेयर हाउस बुद्धनगर, काठमाण्डौं, नेपाल। ०१ ५३१२५८०